धनुषामा सामाजिक सद्भाव जोगाउन सर्वपक्षीय प्रतिबद्धता, जनकपुरधाममा सद्भाव र्याली निकालिने

जनकपुरधाम, १५ साउन । सुनसरी घटनापछि जनकपुरधामसहित धनुषा जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गर्दै सर्वपक्षीय सद्भाव समितिले सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम राख्न साझा प्रतिबद्धता व्यक्त गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउन सबै राजनीतिक दल, धार्मिक तथा सामुदायिक अगुवा, नागरिक समाज, बुद्धिजीवी, स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाले समन्वयात्मक रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।
बैठकले नागरिकबीच आपसी विश्वास, भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिएको छ ।
पछिल्ला घटनालाई लिएर समाजमा अनावश्यक तनाव सिर्जना हुन नदिन संयमता अपनाउन र सामाजिक एकता बलियो बनाउन समेत आग्रह गरिएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा पुराना घटनालाई तोडमोड गरी प्रचार गर्ने, धर्म वा समुदायबीच घृणा र वैमनस्य फैलाउने तथा उत्तेजक अभिव्यक्ति दिने गतिविधिप्रति सचेत रहन बैठकले सबैलाई आह्वान गरेको छ ।
सामाजिक सद्भावको सन्देश प्रवाह गर्न जनकपुरधाममा सर्वपक्षीय सहभागितामा सद्भाव र्याली आयोजना गर्ने निर्णय पनि गरिएको छ ।
साथै जिल्लाका सबै स्थानीय तहलाई पनि आ–आफ्नो क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।
बैठकले हालको परिस्थितिमा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षबीच संवाद, सहकार्य र आपसी विश्वासलाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।


