जनकपुरधाम, १५ साउन । धनुषामा जारी कर्फ्यु आदेशका कारण जयनगर–जनकपुर–भंगहा रेल खण्डको रेल सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले शुक्रबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाको कर्फ्यु आदेशलाई ध्यानमा राखी यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जनाएको हो ।

कम्पनीका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाको साउन १४ गतेको पत्र तथा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेश कार्यान्वयनका क्रममा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न रेल सञ्चालन स्थगित गर्ने निर्णय गरिएको हो ।

कम्पनीले कर्फ्यु आदेश कायम रहुन्जेल जयनगर–जनकपुर–भंगहा रेल खण्डमा कुनै पनि नियमित रेल सेवा सञ्चालन नहुने स्पष्ट गरेको छ ।

सेवा अवरुद्ध हुँदा यात्रुहरूमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ ।

धनुषामा पछिल्ला दिनमा विकसित सुरक्षा संवेदनशील अवस्थालाई मध्यनजर गर्दै प्रशासनले जनकपुरधामसहित विभिन्न क्षेत्रमा कर्फ्यु जारी राखेको छ । सोही कारण सार्वजनिक यातायातसँगै रेल सेवा पनि प्रभावित भएको हो ।