जनकपुरधाम, १५ साउन । मधेश प्रदेशमा पछिल्ला दिनमा बढ्दो तनाव र सामाजिक सद्भाव बिथोल्ने प्रयासलाई नियन्त्रणमा लिन प्रहरीले कारबाही तीव्र पारेको छ ।

सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने तथा उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा शुक्रबार सिरहाबाट पाँच र धनुषाबाट तीन गरी आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्यले भ्रामक तथा उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

यसअघि सर्लाहीमा बाहिरबाट आएर प्रदर्शनमा सहभागी हुन खोजेको आरोपमा पाँच जनालाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

सुरक्षा संवेदनशीलता बढ्दै गएपछि धनुषा, सिरहा र सप्तरीका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ भने पर्सा जिल्लामा निषेधाज्ञा लागू छ ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, कानुनको पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

उता, प्रदेशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले उच्च तहका प्रहरी अधिकृतहरूलाई मधेश प्रदेशमा परिचालन गरेको छ ।

साथै, प्रतिनिधिसभाका सदस्यहरू पनि प्रभावित जिल्लामा पुगेर स्थानीय समुदायसँग संवाद गर्दै हिंसा नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न पहल गरिरहेका छन् ।

सुरक्षा निकायले सामाजिक सञ्जालको दुरुपयोग गरी द्वेष, हिंसा वा अफवाह फैलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ ।