पर्सा, १५ साउन । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुक्रबार जारी गरेको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा साउन १५ गते साँझ ५ बजेदेखि साउन १६ गते बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो ।

आदेशअनुसार तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस, प्रदर्शन तथा भिडभाडजन्य गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम उक्त आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा वीरगञ्ज महानगरपालिकाभित्र प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेटलाई समेट्ने चार किल्लाभित्र लागू हुने प्रशासनले स्पष्ट गरेको छ ।

प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

पछिल्लो सुरक्षा संवेदनशीलता र सम्भावित अप्रिय घटना रोक्नका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ ।

साथै, स्थानीयवासीलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनसँग सहयोग गर्न आग्रह गरिएको छ ।