तराई–मधेशको सुरक्षा कमान्डमा १५ उच्च प्रहरी अधिकृत परिचालन

जनकपुरधाम, १५ साउन । तराई–मधेशमा पछिल्ला दिनमा बढेको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा विशेष जिम्मेवारीसहित परिचालन गरेको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार सुरक्षा अवस्थाको निरन्तर मूल्यांकन, प्रहरी परिचालनको प्रभावकारिता बढाउने, सूचना संकलन तथा विश्लेषण गर्ने, आवश्यक समन्वय र फिल्ड अनुगमनलाई प्रभावकारी बनाउन उच्च अधिकृतहरूलाई तराई–मधेश केन्द्रित रूपमा खटाइएको हो ।
१० साउन राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि तराईका मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत जिल्लामा तनाव बढेको थियो ।
त्यसयता आगजनी, तोडफोड, प्रदर्शन तथा हिंसात्मक गतिविधि भएका छन् ।
केही जिल्लामा कर्फ्यु जारी गरिएको छ भने सुरक्षा व्यवस्थापनका लागि नेपाली सेनासमेत परिचालन गरिएको छ ।
हालसम्म उक्त घटनाक्रमसँग सम्बन्धित हिंसामा तीन जनाले ज्यान गुमाइसकेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार परिचालित उच्च अधिकृतहरूले प्रदेश तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै सुरक्षा रणनीति कार्यान्वयन, स्रोत साधनको व्यवस्थापन, नीति निर्देशन तथा आवश्यकता अनुसार प्रत्यक्ष फिल्डमा खटिएर काम गर्नेछन् ।
परिचालन गरिएका अधिकृतमध्ये एआईजी हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश तथा सुनसरी, एआईजी सिद्धिविक्रम शाहलाई बाँके र एआईजी उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तुको जिम्मेवारी दिइएको छ ।
यस्तै, डीआईजी दिनेश कुमार आचार्य सिरहा, डीआईजी अबि नारायण काफ्ले सप्तरी, एसएसपी भुवनेश्वर तिवारी धनुषा, एसएसपी ज्ञानेन्द्रप्रसाद फुयाँल मोरङ, एसएसपी कृष्णप्रसाद पंगेनी महोत्तरी, एसएसपी गोपालचन्द्र भट्टराई सर्लाही, एसएसपी दीप शम्शेर जबरा रौतहट, एसएसपी सोमेन्द्र सिंह राठौर पर्सा, एसएसपी होबिन्द्र बोगटी बारा, एसएसपी नवराज अधिकारी चितवन तथा एसएसपी अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा जिम्मेवारी तोकिएको प्रहरीले जनाएको छ ।
प्रहरीले तराई–मधेशका संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आवश्यक जनशक्ति, स्रोत साधन र निगरानीलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।

