जनकपुरधाम, १५ साउन । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले पछिल्लो समय प्रदेशका केही स्थानमा देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई यस्ता गतिविधिबाट टाढा राख्न आग्रह गरेका छन् ।

मन्त्री महतोको निजी सचिवालयमार्फत जारी गरिएको अपिलमा सडक प्रदर्शन, जुलुस तथा भीडभाडमा कलिला बालबालिका र युवाहरूको संलग्नता बढ्दै गएको उल्लेख गर्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको जनाइएको छ ।

अपिलमार्फत मन्त्री महतोले अभिभावकलाई आफ्ना सन्तानको गतिविधिमा निगरानी राख्न, कुनै पनि किसिमको उक्साहट, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन आग्रह गरेका छन् ।

‘तपाईंको एउटा निर्णयले तपाईंको सन्तानको भविष्य सुरक्षित गर्न सक्छ,’ अपिलमा भनिएको छ । अत्यावश्यक कामबाहेक बालबालिकालाई घरबाहिर नपठाउन र सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा भड्काउ सूचनाबाट सचेत गराउन पनि आग्रह गरिएको छ ।

क्षणिक आवेगमा गरिएको एउटा गलत कदमले जीवनभर पछुताउनुपर्ने अवस्था आउन सक्ने भन्दै मन्त्री महतोले शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनको पालनामा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।

‘आफ्ना सन्तानलाई भीड होइन शिक्षा, हिंसा होइन मानवता, द्वेष होइन सद्भाव र सहिष्णुताको बाटो रोज्न प्रेरित गरौँ,’ अपिलमा उल्लेख गरिएको छ ।

मधेश प्रदेशका केही जिल्लामा पछिल्ला दिनहरूमा तनावपूर्ण अवस्था देखिएपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।

प्रदेश सरकारले सामाजिक सद्भाव कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न नागरिकस्तरबाट समेत सहयोगको लागि अपिल गरेको छ ।

मन्त्री महतोले अभिभावक, युवा तथा सम्पूर्ण नागरिकलाई संयम अपनाउँदै शान्तिपूर्ण वातावरण निर्माणमा योगदान दिन आग्रह गरेका छन् ।