जनकपुरधाम, १५ साउन । पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप प्रभावकारी बनाएको छ ।

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नियन्त्रण गर्न संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार सम्भावित हिंसात्मक गतिविधि रोक्न सुरक्षा निकायले ड्रोनमार्फत समेत अनुगमन गरिरहेको छ ।

शान्ति सुरक्षा कायम राख्न प्रहरी तथा अन्य सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको जनाइएको छ ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्तिमा असर पार्ने गतिविधि, भ्रामक सूचना प्रवाह तथा कानुनविपरीतका कार्यमा संलग्न व्यक्तिमाथि प्रमाणका आधारमा कारबाही अघि बढाइने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

प्रशासनले नागरिकलाई संयमता अपनाउन, शान्ति कायम राख्न र कुनै पनि किसिमका अफवाह वा उत्तेजनात्मक सामग्रीको पछि नलाग्न आग्रह गरेको छ ।

यसैबीच, सुनसरीबाट सुरु भएको तनाव मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिन थालेको छ ।

पछिल्लो घटनाक्रममा साउन १० यता सुनसरीमा दुई जना र सिरहामा एक जनाको गोली लागेर मृत्यु भएको छ । घटनापछि केही स्थानमा प्रदर्शन, विरोध तथा तनावपूर्ण अवस्था देखिएको छ ।

सुरक्षा निकायले परिस्थितिलाई नियन्त्रणमा राख्न तथा थप अप्रिय घटना हुन नदिन प्रभावित क्षेत्रहरूमा गस्ती र निगरानी बढाएको जनाएको छ ।

प्रशासनले सबै पक्षलाई आपसी सद्भाव कायम राख्दै शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आग्रह गरेको छ ।