जनकपुरधाम, १५ साउन । देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्था र सामाजिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै नेशनल प्याब्सन जनकपुरधामका नगर अध्यक्ष तथा समाजसेवी दिपक ठाकुरले सबै पक्षलाई संयम, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

ठाकुरले मधेशको पहिचान हिंसा, द्वन्द्व र विभाजनबाट नभई विकास, शिक्षा, आपसी विश्वास र सहअस्तित्वबाट स्थापित हुनुपर्ने बताएका छन् ।

उनले कुनै पनि असहमति वा विवादलाई सडकमा द्वन्द्व सिर्जना गरेर नभई संवाद र सहकार्यबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

ठाकुरले पछिल्ला घटनाक्रमले समाजमा अनावश्यक अविश्वास र तनाव बढाउने जोखिम रहेको उल्लेख गर्दै सम्पूर्ण नागरिकलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिले अन्ततः सबै समुदाय, क्षेत्र र वर्गलाई नोक्सानी पुग्ने भएकाले सबैले शान्ति र एकताको पक्षमा उभिनुपर्ने बताएका छन् ।

उनका अनुसार मधेशको भविष्य विकास, गुणस्तरीय शिक्षा, उद्यमशीलता र सामाजिक एकतासँग जोडिएको छ । त्यसैले राजनीतिक, सामाजिक वा अन्य कुनै पनि विषयमा मतभेद भए पनि त्यसलाई हिंसात्मक रूपमा व्यक्त गर्नु उपयुक्त नहुने उनले बताएका छन् ।

ठाकुरले भनेका छन्, ‘मधेश जलाउने होइन, उज्यालो बनाउने हो । धर्म फरक हुन सक्छ, भाषा फरक हुन सक्छ, जात र संस्कृति फरक हुन सक्छ, तर हाम्रो साझा पहिचान नेपाली हो । एकअर्काप्रति सम्मान, विश्वास र सहकार्यबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिन्छ ।’

उनले राष्ट्रिय एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सबै समुदायबीच आपसी सम्मान र विश्वास कायम रहनुपर्ने बताए ।

‘पहिला देश नेपाल, त्यसपछि हामी सबै नेपाली’ भन्ने भावनालाई आत्मसात गर्दै सामाजिक सद्भाव कायम राख्न सबै नागरिक, युवा, अभिभावक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सकारात्मक भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन् ।

एन-प्याब्सन जनकपुरधाम नगर अध्यक्षसमेत रहेका ठाकुरले शिक्षा क्षेत्र समाजलाई जोड्ने सबैभन्दा बलियो माध्यम भएकाले विद्यालय, शिक्षक र अभिभावकले पनि शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउन अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले वर्तमान परिस्थितिमा अफवाह र भ्रामक सूचनाबाट सचेत रहन तथा प्रमाणित सूचना मात्रै विश्वास गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका तनाव, प्रदर्शन र असहज परिस्थितिका बीच ठाकुरको यो अभिव्यक्तिलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वको पक्षमा गरिएको सशक्त अपिलका रूपमा हेरिएको छ ।