जनकपुरधाम, १५ साउन । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिर परिसरमा बस्दै आएका एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

मृतक धनुषाको हँसपुर नगरपालिका–३ मलहनियाका करिब ४५ वर्षीय बन्ठु राउत गडेरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनी राति मन्दिर परिसरमा बस्दै आएका थिए । गएराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि सामाजिक सञ्जालमा मृतकलाई मन्दिरका पुजारीका रूपमा उल्लेख गरिए पनि जिल्ला प्रहरी कार्यालय धनुषाले त्यसको खण्डन गरेको छ ।

प्रहरीका अनुसार गडेरी मन्दिरका पुजारी नभई विभिन्न स्थानमा घुमफिर गर्दै हिँड्ने तथा बाहिर काम गरेर राति मन्दिरमा सुत्न आउने व्यक्ति थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले प्रारम्भिक अनुसन्धानका आधारमा घटना विशुद्ध आपराधिक प्रकृतिको देखिएको जानकारी दिए ।

घटनालाई धार्मिक विवाद वा साम्प्रदायिक विषयसँग जोडेर अफवाह फैलाउने कार्य नगर्न उनले सर्वसाधारणसँग आग्रह गरेका छन् ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

साथै सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न सबै पक्षलाई संयमित हुन तथा पुष्टि नभएका सूचना प्रसारण नगर्न पनि अनुरोध गरेको छ ।