धनुषामा दोस्रो दिन पनि कर्फ्यु कायम, जनजीवन प्रभावित

जनकपुरधाम, १५ साउन । धनुषाको सुरक्षा अवस्था संवेदनशील रहेकाले जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनिश्चितकालीन कर्फ्यु शुक्रबार दोस्रो दिन पनि निरन्तर राखेको छ ।
सम्भावित अप्रिय घटना नियन्त्रण, शान्ति सुरक्षा कायम तथा सामाजिक सद्भाव जोगाउने उद्देश्यले कर्फ्युलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू गरिएको कर्फ्यु आदेश हालसम्म यथावत् रहेकाले प्रभावित क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।
सुरक्षा निकायले कर्फ्यु लागू भएका क्षेत्रमा निगरानी र गस्तीसमेत बढाएको छ ।
कर्फ्यु अवधिभर कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन, समूहमा भेला हुन, जुलुस, प्रदर्शन, सभा वा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ ।
आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
प्रशासनले कर्फ्यु धनुषाको लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोक हुँदै लक्ष्मीपुर बगेवासम्म, बेलौनी रोडस्थित एमक्यू स्टिल क्षेत्रदेखि हुलाकी सडक तथा राष्ट्रिय प्राथमिक विद्यालय आसपास, नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुरधाम–दुधमती पुल–बेला–कादरी मस्जिद क्षेत्रसम्म लागू रहेको जनाएको छ ।
कर्फ्युका कारण जनकपुरधाम र आसपासका क्षेत्रमा बजार, यातायात तथा दैनिक गतिविधि प्रभावित बनेका छन् ।
प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा अफवाहमा विश्वास नगरी शान्ति र संयमता अपनाउन सबैसँग आग्रह गरेको छ ।

