जनकपुरधाम, १४ साउन । मधेश प्रदेश सरकारले प्रदेशभर पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको समीक्षा गर्दै नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानुनको प्रभावकारी कार्यान्वयनलाई सर्वोच्च प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासम्बन्धी घटनाबारे विस्तृत समीक्षा गरिएको उल्लेख गरिएको छ । प्रदेश सरकारले शान्ति र सुरक्षा कायम राख्न आवश्यक सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

विज्ञप्तिअनुसार सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरकारी निकायसँग समन्वयलाई थप प्रभावकारी बनाइ सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम तथा व्यवस्थापन गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन आवश्यक कदम चालिने जनाएको छ ।

प्रदेश सरकारले राजनीतिक दल, सामाजिक संघसंस्था, धार्मिक अगुवा, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा आम नागरिकलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारालाई कायम राख्न संयमता अपनाउन आग्रह गरेको छ ।

आन्दोलन वा असन्तुष्टिका अभिव्यक्तिका क्रममा हिंसा, द्वेष र सामाजिक विभाजन निम्त्याउने गतिविधिबाट टाढा रहन पनि अपिल गरिएको छ ।

त्यसैगरी, सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट अपुष्ट, भ्रामक वा समाजमा द्वेष, हिंसा तथा सार्वजनिक अशान्ति फैलाउन सक्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न प्रदेश सरकारले अनुरोध गरेको छ ।

नागरिकलाई आधिकारिक निकायबाट जारी गरिएका सूचना र तथ्यमा मात्र विश्वास गर्न आग्रह गर्दै अफवाहले सुरक्षा अवस्था थप जटिल बनाउन सक्ने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा पछिल्ला घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा प्रदेश सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रदेश सरकारले शान्ति सुरक्षा, सुशासन, कानुनी शासन तथा नागरिकको संवैधानिक र कानुनी अधिकारको संरक्षणप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको दोर्होयाउँदै सबै पक्षलाई संयम, संवाद र सहयोगमार्फत प्रदेशमा शान्तिपूर्ण वातावरण कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।