मुख्यमन्त्री यादवको अपिलः आन्दोलन शान्तिपूर्ण बनाऔं, सामाजिक सद्भाव जोगाऔं

जनकपुरधाम, १४ साउन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुनसरी घटनापछि विभिन्न जिल्लामा भइरहेका विरोध प्रदर्शनलाई संयमित र शान्तिपूर्ण बनाउन सबै पक्षसँग आग्रह गरेका छन् ।
उनले सामाजिक सद्भाव कायम राख्दै संविधान र कानुनको दायराभित्र रहेर आफ्नो असन्तुष्टि व्यक्त गर्न अपिल गरेका हुन् ।
मुख्यमन्त्री यादवले संविधानभन्दा माथि कोही पनि नरहेको उल्लेख गर्दै घटनाका दोषीमाथि कानुनअनुसार कारबाही हुने विश्वास व्यक्त गरे । उनले आन्दोलनका क्रममा हिंसा, तोडफोड र आगजनीजस्ता गतिविधिले समस्या समाधान नभई अवस्था थप जटिल बन्ने बताए ।
‘यस्ता घटना देशका लागि दुर्भाग्यपूर्ण हुन् । विरोध प्रदर्शन लोकतान्त्रिक अधिकार हो, तर त्यो शान्तिपूर्ण र मर्यादित हुनुपर्छ,’ उनले भने । उनका अनुसार हिंसात्मक गतिविधिका कारण नेपालप्रति देश विदेशमा नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।
मुख्यमन्त्री यादवले आन्दोलनको नाममा कुनै समुदाय वा पक्षलाई होच्याउने, सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, सवारीसाधनमा आगजनी गर्ने र सामाजिक सद्भाव बिगार्ने गतिविधिबाट टाढा रहन सबैसँग आग्रह गरे ।
उनले सर्वदलीय बैठकमा पनि घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै संयमता अपनाउन सबै पक्षलाई आग्रह गरिएको जानकारी दिए ।
मुख्यमन्त्री यादवले पछिल्ला घटनाक्रमका कारण विभिन्न जिल्लामा कफ्र्यु आदेश जारी गर्नुपरेको, विद्यालय बन्द भएका र अस्पतालमा उपचाररत बिरामी तथा उनीहरूका आफन्तसमेत प्रभावित भएको उल्लेख गर्दै यस्तो अवस्थाबाट सबैले पाठ सिक्नुपर्ने बताए ।
साथै उनले सामाजिक सञ्जालमार्फत अतिरञ्जित, अपुष्ट र भ्रामक सूचना फैलाउने प्रवृत्तिले तनाव थप बढाएको भन्दै तथ्यहीन सामग्री साझा नगर्न आग्रह गरे ।
‘सामाजिक सद्भाव भड्काउने कुनै पनि गतिविधि कसैबाट हुनुहुँदैन । अहिले सबैभन्दा ठूलो आवश्यकता संयमता, संवाद र आपसी विश्वासको हो,’ मुख्यमन्त्री यादवले भने ।

