जनकपुरधाम, १४ साउन । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पछिल्ला घटनापछि प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी भाइचारा कायम राख्न सबैसँग हार्दिक अपिल गरेका छन् ।

बिहीबार जारी अपिलमा प्रदेश प्रमुख कर्णले मधेश प्रदेश विभिन्न आस्था, संस्कृति र परम्पराको साझा थलो भएकाले क्षणिक तनाव वा गलतफहमीका कारण वर्षौंदेखि कायम रहेको आपसी विश्वास र सहअस्तित्वमा आँच आउन नदिन आग्रह गरेका छन् ।

उनले पछिल्ला केही घटनाले समाजमा अन्योल र चिन्ता बढाएको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा आवेगभन्दा विवेक, धैर्य र संयमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । अफवाह र उत्तेजनामा नलागी आपसी संवाद तथा सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

प्रदेश प्रमुख कर्णले समाजमा देखिने मतभेदलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै समुदाय, नागरिक तथा सरोकारवालालाई आग्रह गरेका छन् । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्था भए पनि शान्ति, सुरक्षा र समृद्ध भविष्यप्रतिको साझा चाहना सबैको एउटै रहेको उनले उल्लेख गरेका छन् ।

उनले पुरानो विश्वास, आत्मीयता र छिमेकीबीचको सद्भावलाई थप मजबुत बनाउँदै प्रदेशमा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेश प्रमुख कर्णले मधेशका नागरिकलाई संयमित रहन, सामाजिक सद्भाव जोगाउन तथा कुनै पनि अफवाह वा उक्साहटमा नपर्न आग्रह गर्दै शान्ति, सुरक्षा र भाइचाराको वातावरण निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।