जनकपुरधाममा सेना परिचालन, आवश्यक परे गोली चलाउने अधिकार पनि प्रदान

जनकपुरधाम, १४ साउन । धनुषाको सुरक्षा अवस्था थप संवेदनशील बनेपछि स्थानीय प्रशासनले जनकपुरधामका कर्फ्यू प्रभावित क्षेत्रमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार अपराह्न ३:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लागू गरिएको कर्फ्यू प्रभावकारी बनाउन नेपाली सेना परिचालनका लागि अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विष्णुदल गण, महेन्द्रनगर ब्यारेकलाई पठाएको पत्रमार्फत कर्फ्यू लागू गरिएका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाको सहयोग आवश्यक परेको उल्लेख गरेका छन् ।
प्रशासनका अनुसार पूर्वतर्फ बेलौनी रोड–एमक्यू स्टिल क्षेत्रदेखि, पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, इस्कोन जनकपुर, दुधमती पुल र कादरी मस्जिद क्षेत्रसम्म, उत्तरतर्फ लक्ष्मीनिया हाटबजार हुँदै लक्ष्मीपुर बगेवासम्म तथा दक्षिणतर्फ नगराइन नगरपालिका र नगराइन चोक आसपासका क्षेत्रमा कर्फ्यू लागू गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१)(क)२ बमोजिम सेना परिचालनको अनुरोध गरिएको पत्रमा शान्ति सुरक्षा कायम गर्न आवश्यक परे न्यूनतम बल प्रयोग गर्दै गोली चलाउनेसम्मको अधिकार नेपाली सेनालाई प्रत्यायोजन गरिएको उल्लेख छ ।
यसअघि जिल्लामा प्रदर्शन र तनाव बढेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।
कर्फ्यू प्रभावकारी कार्यान्वयन तथा सम्भावित हिंसात्मक गतिविधि नियन्त्रणका लागि सेना परिचालन गरिएको प्रशासनले जनाएको छ ।


