पर्सा, १४ साउन । पर्सा प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

आदेशअनुसार तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि प्रकारका समूहगत गतिविधि गर्न निषेध गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम उक्त आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रशासनले प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेटले घेरेको क्षेत्रभित्र निषेधाज्ञा लागू हुने जनाएको छ ।

प्रशासनले आदेशको उल्लङ्घन गर्ने व्यक्ति वा समूहलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।

हाल देशका विभिन्न जिल्लामा बढ्दो सुरक्षा संवेदनशीलताका बीच पर्सा प्रशासनले सम्भावित अप्रिय घटना रोक्न पूर्वसावधानीस्वरूप निषेधाज्ञा जारी गरेको जनाएको छ ।