संवेदनशील अवस्थामा जिम्मेवार पत्रकारिता गर्न मिडिया काउन्सिल मधेशको आग्रह

जनकपुरधाम, १४ साउन । सुनसरीसहित देशका विभिन्न स्थानमा विकसित भइरहेका संवेदनशील घटनाक्रमका बीच मिडिया काउन्सिल मधेश प्रदेशले सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित र जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।
बिहीबार कार्यवाहक अध्यक्ष बन्दना कुमारी झाद्वारा जारी प्रेस विज्ञप्तिमा तथ्य पुष्टि नभएका सूचना, अफवाह, उत्तेजनात्मक अभिव्यक्ति तथा सामाजिक, धार्मिक वा साम्प्रदायिक सद्भावमा असर पुग्ने सामग्रीको प्रकाशन, प्रसारण वा साझेदारी नगर्न अपिल गरिएको छ ।
काउन्सिलले यस्ता सामग्रीले जनमानसमा भ्रम, त्रास र असुरक्षाको भावना बढाउनुका साथै शान्ति, सुरक्षा र सामाजिक एकतामा समेत नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सबै पक्षले विशेष संवेदनशीलता अपनाउनुपर्ने जनाएको छ ।
विज्ञप्तिमा समाचार तथा सूचना सम्प्रेषण गर्दा पत्रकारिता आचारसंहिता, प्रचलित कानुन र व्यावसायिक जिम्मेवारीको पूर्ण पालना गर्न तथा आधिकारिक स्रोतबाट तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरिएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा अपुष्ट सूचना, भ्रामक सामग्री, पुराना तस्बिर वा भिडियोलाई नयाँ घटनासँग जोडेर प्रसारण नगर्न, हिंसा वा द्वेष फैलाउने तथा सामाजिक सद्भाव खल्बल्याउने सामग्री साझेदारी नगर्न पनि काउन्सिलले सबै प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
मिडिया काउन्सिल मधेश प्रदेशले वर्तमान संवेदनशील परिस्थितिमा सत्यता, संयम र व्यावसायिक मर्यादालाई सर्वोच्च प्राथमिकता दिएर मात्रै सूचना सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

Screenshot

