मधेशमा सरकारी सवारी सञ्चालनमा कडाइ, अत्यावश्यक कामबाहेक प्रयोग नगर्न निर्देशन

जनकपुरधाम, १४ साउन । मधेश प्रदेशका सबै जिल्लामा सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरिएको छ ।
पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले अत्यावश्यक कामबाहेक सरकारी सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको हो ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सबै सरकारी कार्यालयलाई पत्राचार गर्दै कार्यालय प्रयोजनका लागि उपलब्ध सवारी साधनहरू अनावश्यक रूपमा प्रयोग नगर्न र सुरक्षित व्यवस्थापन गर्न आग्रह गरेको छ ।
मन्त्रालयका अधिकृत राधेशंकर प्रसाद पन्तद्वारा जारी पत्रमा हालको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा सरकारी सवारी साधन प्रयोग नगर्न तथा नगराउन भनिएको छ ।
पत्रमा सरकारी सवारी साधनको सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिनसमेत कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ ।
मधेशका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाका कारण प्रशासनले सुरक्षा व्यवस्थापनलाई थप कडाइ गर्दै आएको छ ।
सरकारी स्रोतसाधनको दुरुपयोग रोक्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।


