सिरहा, १४ साउन । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो भएको झडपपछि स्थिति तनावग्रस्त बनेको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको हो ।

गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार मृत्यु हुनेमा औरही गाउँपालिका-२ का अन्दाजी १५ वर्षीय गणेश यादव रहेका छन् ।

झडपका क्रममा अर्का एक जना घाइते भएको र उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि धरान पठाइएको लामाले जानकारी दिए ।

घटनापछि आक्रोशित प्रदर्शनकारीले मृतकको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले शव उठाउन नदिएको प्रशासनले जनाएको छ ।

यसअघि गोलबजारमा दुई पक्षबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रहरीले भीड नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास मात्रै प्रयोग गरेको छ ।

घटनापछि जिल्लाका सुरक्षा निकायका प्रमुखहरू गोलबजार पुगेका छन् ।

थप अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।