लहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा, १४ साउन । सिरहाको लहान क्षेत्रमा सुरक्षा अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय तथा पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।
प्रशासनले जारी गरेको आदेशअनुसार लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ ।
कर्फ्यु क्षेत्र पूर्वतर्फ बलान खोला, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम), र दक्षिणतर्फ पूर्वपश्चिम राजमार्गबाट ५०० मिटर क्षेत्रसम्म तोकिएको छ ।
कर्फ्यु आदेश बुधबार २०८३ साल साउन १४ गते दिउँसो ४ बजेदेखि लागू भएको हो । अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने प्रशासनले जनाएको छ ।
कर्फ्यु लागू भएको क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न, भेला हुन, सभा, बैठक, प्रदर्शन, घेराउ तथा नाराबाजी गर्न निषेध गरिएको छ ।
प्रशासनले आदेश उल्लंघन गरी कुनै गतिविधि भएमा सुरक्षाकर्मीले आवश्यक बल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ ।
आदेश अवज्ञा गर्ने अवस्था आएमा चेतावनीसहित गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिइएको सूचनामा उल्लेख छ ।
सुनसरीमा भएको घटनाको प्रभाव विभिन्न जिल्लामा फैलिन थालेपछि सिरहामा समेत सुरक्षा सतर्कता बढाइएको हो ।
प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।


