सिरहामा तनाव चुलियो, प्रहरीको गोली लागेर दुई घाइते

सिरहा, १४ साउन । सुनसरीमा दुई समुदायबीच भएको घटनाको प्रभाव सिरहामा पनि देखिएको छ ।
प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएपछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको हो ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्युका बाबजुद पनि विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि आगजनी र तोडफोडका घटना भएका छन् ।
प्रदर्शन उग्र बन्दै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
उनीहरूलाई तत्काल उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरूको अवस्था बारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एक मोटरसाइकल ग्यारेजमा तोडफोड गर्दै त्यहाँ रहेका मोटरसाइकलमा आगजनी गरेका थिए ।
आगलागीबाट ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।
जिल्लामा थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, शान्ति कायम राख्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

