जनकपुरधाम, १४ साउन । सुनसरीसहित देशका विभिन्न जिल्लामा हालै भएका घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै धनुषाका निजी विद्यालयहरूले शुक्रबारदेखि पठनपाठन स्थगित गर्ने निर्णय गरेका छन् ।

हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषाले संयुक्त विज्ञप्ति जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्लाभित्र आबद्ध सबै विद्यालय तथा क्याम्पसमा पठनपाठन स्थगित रहने जानकारी दिएका हुन् ।

संस्थाहरूले सुनसरीलगायत विभिन्न जिल्लामा भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा पछिल्ला केही दिनयता विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि तथा विभिन्न संघसंगठनले बजार बन्दको आह्वान गरेका कारण विद्यार्थीहरूको आवतजावत असहज बनेको उल्लेख गरिएको छ ।

यही अवस्थालाई ध्यानमा राख्दै पठनपाठन स्थगित गरिएको जनाइएको छ ।

शैक्षिक संस्थाहरूले सरकारलाई सम्बन्धित पक्षसँग तत्काल संवाद गरी शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

साथै विद्यालयबाट घर फर्किने क्रममा विद्यार्थीहरूको सुरक्षित आवागमनमा सहजीकरण गरिदिन सम्बन्धित पक्षसँग अनुरोध पनि गरेका छन् ।

संयुक्त विज्ञप्तिअनुसार परिस्थिति सामान्य रहेमा आगामी साउन १८ गते सोमबारदेखि विद्यालय तथा क्याम्पसहरू नियमित समयमै सञ्चालन हुने जनाइएको छ ।