दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी

-
सिरहा, १४ साउन । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको प्रभाव सिरहामा पनि देखिएको छ ।
जिल्लामा दुई समूहबीच तनाव चुलिँदा झडप भएको छ भने ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ । आगलागीमा परेका सबै मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन् ।
आगलागी नियन्त्रणका लागि गोलबजार नगरपालिकाको दमकल परिचालन गरिएको थियो । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि घटनास्थलमा तनावपूर्ण अवस्था कायमै रहेको जनाइएको छ ।
घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । तर, कर्फ्यु लागू गरिए पनि प्रदर्शनकारीहरू सडकमा उत्रिने क्रम नरोकिएको र विभिन्न स्थानमा प्रदर्शन जारी रहेको बताइएको छ ।
सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरेको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको तथा प्रशासनले नागरिकलाई अफवाहमा नलाग्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

