जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम, १४ साउन । धनुषा जिल्लामा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जनकपुरधामका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार जारी गरेको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आज दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागू गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेशअनुसार तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा घेराउ गर्न पाउने छैन ।
आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार कर्फ्यु लागू गरिएका क्षेत्रहरूमा लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोक र लक्ष्मीपुर बगेवासम्म, बेलौनी रोडस्थित एमक्यू स्टिल क्षेत्रदेखि हुलाकी सडक र राष्ट्रिय प्राथमिक विद्यालय आसपास, नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुरधाम–दुधमती पुल–बेला–कादरी मस्जिद क्षेत्र समावेश छन् ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा परिचालन गरिएको जनाएको छ ।


