सिरहा, १४ साउन । सिरहा जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाको गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको आदेशअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।

आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।

कर्फ्यु गोलबजार नगरपालिकाको पूर्वतर्फ वडा नं. ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ स्थित राष्ट्रिय प्रजातन्त्र राष्ट्रिय प्रजातन्त्र बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा लागू हुनेछ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गर्दै जिल्लाको शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।

प्रशासनले कर्फ्यु आदेश उल्लङ्घन गरी कुनै पनि गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।