जनकपुरधाम, १४ साउन । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा जनकपुरधाममा बिहीबार बिहानदेखि प्रदर्शन चर्किएको छ ।

प्रदर्शनकारीहरूले रामानन्द चोकमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेपछि आन्दोलन शहरका अन्य क्षेत्रमा समेत फैलिएको छ ।

प्रदर्शनका क्रममा केही स्थानमा दुई पक्षबीच तनाव उत्पन्न भएको भन्दै जिल्ला प्रशासनले सुरक्षा अवस्था नजिकबाट अनुगमन गरिरहेको जनाएको छ ।

यसैबीच, धनुषा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर पछिल्लो परिस्थितिको समीक्षा गरिरहेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सुरक्षा अवस्थाको मूल्याङ्कनका आधारमा आवश्यक परे कर्फ्यु आदेश जारी गर्ने विकल्पसमेत छलफलमा रहेको जानकारी दिए ।

उनले भने, ‘अहिले जिल्ला सुरक्षा समितिको बैठक चलिरहेको छ । परिस्थितिको मूल्याङ्कन गर्दै आवश्यक निर्णय लिइनेछ । आवश्यक परे कर्फ्यु लगाउने विषयमा पनि छलफल भइरहेको छ ।’

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार सम्भावित अप्रिय घटना रोक्न जनकपुरधामका संवेदनशील चोकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त सुरक्षा परिचालन गरिएको छ ।

सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपपछि उत्पन्न तनावको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा समेत देखिन थालेको छ ।

त्यसको विरोधमा जनकपुरधामसहित विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् भने प्रशासनले नागरिकलाई संयमित रहन र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।