सुनसरी घटनापछि शान्ति र सद्भाव कायम राख्न जनकपुरधाम उद्योग वाणिज्य संघको अपिल

जनकपुरधाम, १४ साउन । सुनसरीसहित पूर्वी नेपालका जिल्लामा हालै भएको हिंसात्मक घटनाप्रति जनकपुरधाम उद्योग वाणिज्य संघले गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।
संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
साथै घटनामा घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
विज्ञप्तिमा नेपाल सरकार र स्थानीय प्रशासनसँग घटनाका पीडितलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी र ठोस कदम चाल्न आग्रह गरिएको छ ।
संघले नागरिक अगुवा, धार्मिक तथा सामाजिक नेतृत्व, विभिन्न संघसंस्था, क्लब, समिति तथा सरोकारवाला सबै पक्षलाई कानुनको पालना गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेको छ ।
दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिँदै उद्योग, व्यवसाय, निजी तथा सार्वजनिक सम्पत्तिमा कुनै प्रकारको क्षति हुन नदिन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघले संवेदनशील परिस्थितिमा कुनै पनि प्रकारको मानवीय, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षति हुन नदिन आपसी संवाद, सहिष्णुता र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
संघका कार्यवाहक अध्यक्ष लक्ष्मण साह र महासचिव फुलदेव पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै समुदायबीचको आपसी विश्वास, भाइचारा र सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण रूपमा समस्याको समाधान खोज्न सबै पक्षसँग अपिल गरिएको छ ।


