जनकपुरधाम, १३ साउन । जनकपुरधामका व्यवसायी जानी खानलाई दुई वर्षीया बालिका अपहरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार एक व्यक्तिको दुई वर्षीया छोरीलाई अपहरण गरेको आरोप लागेपछि खानलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान सुरु गरिएको हो ।

अपहरणमा परेकी बालिकालाई भने सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बालिका अपहरण प्रकरणमा जानी खान पक्राउ परेको पुष्टि गर्दै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पक्राउ परेका जानी खान जनकपुरधामको शिवचोकमा जुत्ता चप्पल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी हुन् ।

उनी नेकपा एमाले निकट कार्यकर्ताका रूपमा पनि परिचित रहेका छन् ।

प्रहरीले घटनाको कारण, अपहरणको उद्देश्य तथा यससँग सम्बन्धित अन्य पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।