जनकपुरधाम, १३ साउन । जनकपुरधामको ऐतिहासिक तथा सार्वजनिक सम्पत्ति मानिने रङ्गभूमि बाह्रबिघा मैदान संरक्षणको अभावमा जुवातास, लागुऔषध सेवन तथा अन्य अवाञ्छित गतिविधिको केन्द्र बन्दै गएको छ ।

स्थानीयवासीले दिनदहाडै सार्वजनिक स्थलमा यस्ता गतिविधि भइरहँदा पनि प्रभावकारी नियन्त्रण हुन नसकेको गुनासो गरेका छन् ।

स्थानीयका अनुसार दैनिक बिहानदेखि रातिसम्म मैदानका विभिन्न भागमा युवा तथा प्रौढ उमेर समूहका व्यक्तिहरू जुवातास खेल्ने, गाँजा, चरेश तथा अन्य लागुऔषध सेवन गर्ने गरेका छन् ।

खुला मैदान भएकाले प्रहरी गस्ती देख्नासाथ उनीहरू केही समय गतिविधि रोक्ने र प्रहरी फर्किएपछि पुनः सुरु गर्ने गरेको स्थानीयको भनाइ छ ।

मैदानको उत्तरतर्फ व्यापार गर्दै आएका एक स्थानीय व्यवसायीका अनुसार पानी परेको दिनबाहेक प्रायः हरेक दिन यहाँ जुवाडेको भीड लाग्ने गरेको छ ।

कहिलेकाहीँ प्रहरीले पुगे पनि तास च्यातेर छाड्नेबाहेक कडा कारबाही नहुँदा जुवाडेहरूको मनोबल बढ्दै गएको उनी बताउँछन् ।

जनकपुरधाक–११ का एक स्थानीयले विद्यालय आउने–जाने विद्यार्थी र युवाले दैनिक यस्तो दृश्य देख्नुपर्दा त्यसको नकारात्मक प्रभाव समाजमा पर्न सक्ने चिन्ता व्यक्त गरे ।

सार्वजनिक स्थानमै खुलेआम जुवातास खेलिनु र लागुऔषध सेवन हुनु प्रशासनका लागि चुनौती बनेको उनको भनाइ छ ।

मैदानको उत्तर–पूर्वी भागमा निर्माणाधीन अवस्थामा अलपत्र परेको सार्वजनिक शौचालय पनि अहिले लागुऔषध सेवनकर्ताको मुख्य अड्डा बनेको स्थानीयको आरोप छ ।

निर्माण अधुरै छाडिएको भवनभित्र रातिसम्म युवाहरू लागुऔषध सेवन गर्ने तथा वरिपरि फोहोरको थुप्रो जमेकाले दुर्गन्ध फैलिएको उनीहरू बताउँछन् ।

स्थानीयका अनुसार मैदानका एकान्त स्थानहरूमा राति अबेरसम्म युवा युवतीको जमघट हुने तथा विभिन्न अवाञ्छित गतिविधिसमेत हुने गरेको छ । यसले सार्वजनिक स्थलको गरिमा घटाएको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९ का वडाध्यक्ष परमेश्वर साहले बाह्रबिघामा हुने अवाञ्छित गतिविधिबारे पटकपटक प्रहरीलाई जानकारी गराउँदै आएको बताए ।

उनका अनुसार मैदानको उचित संरक्षण र व्यवस्थापन नहुँदा यस्ता समस्या बढ्दै गएका हुन् ।

उनले प्रहरी, स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाले संयुक्त रूपमा संरक्षण अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बाह्रबिघा क्षेत्रमा नियमित रूपमा दिन र राति गस्ती परिचालन भइरहेको जानकारी दिए ।

उनले लागुऔषध सेवन तथा अनैतिक गतिविधिमा संलग्न व्यक्तिलाई समय समयमा नियन्त्रणमा लिइँदै आएको र आगामी दिनमा गस्ती थप प्रभावकारी बनाइने बताए ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बाह्रबिघा मैदान जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बीचको स्वामित्व तथा व्यवस्थापन विवादका कारण वर्षौंदेखि उपेक्षित बन्दै आएको छ ।

संरक्षणको अभावमा मैदानको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै जाँदा यसको ऐतिहासिक पहिचानसमेत संकटमा पर्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।