जानकी मन्दिरमा महन्त–शिष्य विवाद उत्कर्षमा, दुई शिष्य बहिष्कृत

जनकपुरधाम, १३ साउन । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आफ्ना दुई शिष्य रामरोशन दास र मनोज दासलाई मन्दिरको परम्परा तथा धार्मिक मर्यादा विपरीत गतिविधि गरेको आरोप लगाउँदै पूजापाठ तथा धार्मिक कार्यबाट बहिष्कार गरेका छन् ।
बुधबार एक भिडियो सन्देश जारी गर्दै महन्त दासले गुरु पूर्णिमाको अवसरदेखि दुवै शिष्यलाई वैष्णव परम्पराबाट अलग गरिएको जानकारी दिएका हुन् ।
उनले मनोज दासले वैष्णव परम्परा त्यागेर कबिर धर्म अपनाएको र रामरोशन दासले आफू महन्तको शिष्य नभई न्यायाधीशको शिष्य भएको अभिव्यक्ति दिँदै आएको आरोप लगाए ।
महन्त दासले मन्दिरको धार्मिक परम्परा, आश्रमको मर्यादा तथा गुरु–शिष्य सम्बन्धको मान्यता विपरीत गतिविधि गरेकाले दुवैलाई पूजापाठ तथा मन्दिरका धार्मिक कार्यमा संलग्न हुन नदिने निर्णय गरिएको बताएका छन् ।
साथै, रामरोशनलाई न्यायाधीशले कुन धर्म र कुन मन्त्र दिएका हुन् भन्ने विषय सम्बन्धित व्यक्तिले नै स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।
जानकी मन्दिरमा महन्त नियुक्तिको प्रक्रिया अघि बढेसँगै महन्त रामतपेश्वर दास र उत्तराधिकारी महन्तका रूपमा चिनिएका रामरोशन दासबीचको विवाद सार्वजनिक रूपमा चर्किएको हो ।
रामरोशन दासले आफूलाई मुख्य महन्तका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका बेला महन्त दासले भने पद नछाड्ने अडान लिएका छन् ।यसअघि उत्तराधिकारी सम्बन्धी विवाद अदालतसम्म पुगेको थियो ।
अदालतबाट सफाइ पाएपछि रामरोशन दास पुनः मुख्य महन्तको दाबेदार बनेका छन् । सोही पृष्ठभूमिमा गुठी संस्थानले महन्त नियुक्तिको प्रक्रिया अघि बढाएको स्रोतहरूको भनाइ छ ।
सर्वोच्च अदालतले गुरु–शिष्य परम्पराका आधारमा नभई ‘पुजारीलगायत जनशक्ति व्यवस्थापन निर्देशिका, २०७७’ अनुसार महन्त नियुक्ति गर्न आदेश दिएपछि गुठी संस्थानले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
यससँगै जानकी मन्दिरको नेतृत्वलाई लिएर देखिएको विवाद थप गहिरिने देखिएको छ ।

