जनकपुरधाम, १३ साउन । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत बुधबार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू वारदातपछि फरार रहँदै आएका थिए ।

पक्राउ परेकामध्ये लागूऔषध सम्बन्धी मुद्दाका तीन जना, चोरी मुद्दाका दुई जना, बहुविवाह मुद्दाका दुई जना र सवारी ज्यान मुद्दाका एक जना रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये बहुविवाह मुद्दाका दुई जनालाई जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको छ ।

त्यस्तै, लागूऔषध मुद्दामा १ महिना तथा १५ दिनसम्म, चोरी मुद्दामा १ महिना र ६ दिनसम्म तथा सवारी ज्यान मुद्दामा ७ दिन कैद सजाय तोकिएको थियो ।

उनीहरूबाट विभिन्न मुद्दामा गरी जरिवाना रकमसमेत असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।