जनकपुरधाम, १३ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनालाई लिएर हिन्दू सम्राट नेपालले सरकारसमक्ष १४ बुँदे मागपत्र पेश गर्दै केन्द्र सरकारसँग पीडित पक्ष, स्थानीयवासी तथा हिन्दू संघसंगठनका प्रतिनिधिहरूको प्रत्यक्ष बैठकको व्यवस्था गर्न आग्रह गरेको छ ।

संगठनले सार्वजनिक गरेको मागपत्रमा देवानगञ्ज घटनामा संलग्न सबै दोषी तथा योजनाकारलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, घटनाको निष्पक्ष उच्चस्तरीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा गोली चलाउने व्यक्ति र घटनाको पृष्ठभूमिबारे जानकारी सार्वजनिक गर्न माग गरिएको छ ।

यस्तै, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा घटनामा प्रशासनिक कमजोरी देखिएको भन्दै जिम्मेवार अधिकारीहरूमाथि पनि कारबाही गर्न संगठनले सरकारसँग माग गरेको छ ।

मागपत्रमा सीमा सुरक्षालाई थप कडा बनाउन, अवैध विदेशी घुसपैठ रोक्न, मस्जिद तथा मदरसाको अनुगमन र छानबिन गर्न, मुस्लिम आयोग खारेज गर्न, मदरसा प्रतिबन्ध गर्न तथा मस्जिदबाट लाउडस्पीकर हटाउनुपर्ने लगायतका मागहरू पनि समावेश छन् ।

त्यसैगरी, संगठनले नेपाललाई पुनः सनातन वैदिक हिन्दू राष्ट्र घोषणा गर्न, मुस्लिम समुदायको नागरिकता तथा विभिन्न धार्मिक संस्थाको गतिविधिमाथि छानबिन गर्न, विदेशी तथा स्वदेशी नेटवर्कमार्फत सञ्चालन हुने कथित आतंकवादी गतिविधिको अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न तथा प्रधानमन्त्रीका सल्लाहकार मो. आसिम शाहलाई पदबाट हटाउन पनि सरकारसँग माग गरेको छ ।

हिन्दू सम्राट नेपालले आफ्ना सबै मागहरू केन्द्र सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले सरकार, पीडित पक्ष र हिन्दू संघसंगठनबीच प्रत्यक्ष संवादको वातावरण बनाउन आग्रह गरेको जनाएको छ ।