धनुषामा विभिन्न मुद्दाका ८ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, १२ साउन । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीहरूको खोजतलास तीव्र पारिएको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये लागूऔषध सम्बन्धी दुई, डाका सम्बन्धी तीन, सवारी ज्यान सम्बन्धी एक तथा बहुविवाह सम्बन्धी दुई जना प्रतिवादी रहेका छन् ।
उनीहरूमध्ये डाका मुद्दाका तीन प्रतिवादीलाई जनही तीन वर्ष कैद सजाय तोकिएको थियो ।
बहुविवाह मुद्दाका दुई जनालाई एक वर्ष २६ दिन कैद र जनही रु. ५ हजार जरिवाना, सवारी ज्यान मुद्दाका एक प्रतिवादीलाई चार महिना कैद तथा रु. २ हजार जरिवाना, लागूऔषध मुद्दाका एक प्रतिवादीलाई २० दिन कैद र रु. २ हजार जरिवाना तथा अर्को लागूऔषध मुद्दाका प्रतिवादीलाई रु. ३ हजार जरिवाना सजाय तोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान निरन्तर सञ्चालन भइरहेको जानकारी दिएका छन् ।

