जलेश्वरमा टायर बालेर प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी

महोत्तरी, १२ साउन । महोत्तरीको सदरमुकाम जलेश्वरमा विभिन्न हिन्दुवादी संघसंगठनले मंगलबार टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले गृहमन्त्री सुदन गुरुङको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
जलेश्वरको मुख्य बजार क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले हिन्दु धर्म र धार्मिक आस्थामाथि कथित रूपमा आघात पुगेको तथा शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाएका छन् ।
उनीहरूले पछिल्ला घटनाप्रति सरकार गम्भीर नभएको भन्दै गृहमन्त्रीले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
प्रदर्शनका क्रममा केही समय सडक आवागमन प्रभावित भए पनि सुरक्षा निकायको उपस्थितिमा स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सम्भावित अप्रिय घटना हुन नदिन जलेश्वरका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदर्शनकारीहरूले सरकारलाई धार्मिक सद्भाव कायम राख्न, दोषीमाथि कानुनी कारबाही गर्न र जनताको सुरक्षाप्रति जिम्मेवार बन्नसमेत आग्रह गरेका छन् ।













तस्बिरहरू: नवीन चौधरी

