सुनसरी घटनापछि सर्लाहीमा पनि डीजे बजाउन पूर्ण प्रतिबन्ध

सर्लाही, १२ साउन । सुनसरीको देवानगञ्जमा डीजे बजाउने विषयबाट उत्पन्न भएको हिंसात्मक घटनापछि सर्लाही जिल्ला प्रशासन कार्यालयले जिल्लाभर डीजे प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमार्फत धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यक्तिगत कुनै पनि कार्यक्रममा डीजे बजाउन नपाइने निर्णय सार्वजनिक गरेको हो ।
प्रशासनले जिल्लाको शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।
विज्ञप्तिमा सबै सरोकारवालालाई निर्णयको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।
प्रशासनका अनुसार कसैले निर्णयको उल्लंघन गरी डीजे प्रयोग गरेको पाइएमा सुरक्षाकर्मीले सम्बन्धित डीजे, साउण्ड सिस्टम तथा प्रयोगमा रहेका सवारीसाधनसमेत नियन्त्रणमा लिनेछन् । साथै आयोजक र सञ्चालक दुवैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
गत आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा डीजे बजाउने विषयमा दुई पक्षबीच विवाद चर्किएर हिंसात्मक बनेको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।
उक्त घटनाको प्रभाव तराईका विभिन्न जिल्लामा देखिन थालेको छ ।
सर्लाहीको सदरमुकाम मलंगवामा पनि सोमबार विरोध प्रदर्शन भएको थियो । त्यसपछि सम्भावित तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले जिल्लाभर डीजे प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।

