जनकपुरधाम, १२ साउन । सुनसरी जिल्लामा हालै भएको घटनापछि सामाजिक सद्भावमा पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाको पहलमा जनकपुरधाममा जिल्ला सामाजिक सद्भाव सर्वपक्षीय समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले धनुषा जिल्लामा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै ६ बुँदे सहमति गरेको हो ।

सहभागीहरूले नेपाललाई बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा सहिष्णु समाजको रूपमा स्थापित राष्ट्रिय पहिचानलाई अक्षुण्ण राख्नुपर्नेमा जोड दिएका छन् ।

सहमतिअनुसार जिल्लामा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विभिन्न धर्म तथा समुदायका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, संघसंस्था र स्थानीय तहका जनप्रतिनिधिले समन्वय र सहकार्यलाई निरन्तरता दिनेछन् ।

बैठकले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्काउने, द्वेष फैलाउने वा उत्तेजना सिर्जना गर्ने सामग्री प्रकाशन तथा प्रसारण गर्नेमाथि मुलुकी अपराध संहिता ऐन, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने निर्णय पनि गरेको छ ।

यस्तै, कुनै पनि प्रकारका शान्तिपूर्ण विरोध वा प्रदर्शनका कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनबाट पूर्वस्वीकृति लिनुपर्ने निर्णयसमेत बैठकले गरेको छ ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आग्रह गर्दै बैठकका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिए ।