जनकपुरधाम, १२ साउन । जनकपुरधाम उपमहानगरपालिकामा गुठी संस्थानका प्रशासक शैलेश राज कुँवर नेतृत्वको टोली मंगलबार आएको छ ।

जनकपुरधामका ऐतिहासिक तथा सार्वजनिक पोखरी संरक्षण अभियानलाई अघि बढाउने उद्देश्यले टोली जनकपुरधाम आएको हो ।

उपमहानगरपालिकामा आयोजित भेटघाटमा नगरप्रमुख मनोजकुमार साह, प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे तथा कार्यपालिका सदस्य राकेश विक्रम साहले गुठी संस्थानको टोलीलाई स्वागत गरेका थिए ।

भेटका क्रममा जनकपुरधामभित्र रहेका गुठीका जग्गा तथा पोखरी संरक्षण, अतिक्रमण हटाउने प्रक्रिया र आगामी कार्ययोजनाबारे छलफल भएको बताइएको छ ।

उपमहानगरपालिकाका अनुसार मंगलबार बस्ने संयुक्त बैठकपछि पहिलो चरणमा रेखाङ्कन सम्पन्न भइसकेका सात वटा पोखरी क्षेत्रबाट बुधबारदेखि अतिक्रमण हटाउने अभियान सुरु गरिने तयारी गरिएको छ ।

पोखरी क्षेत्रको संरक्षण, सार्वजनिक सम्पत्तिको व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणका लागि गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच समन्वयात्मक रूपमा अभियान सञ्चालन गरिने जनाइएको छ ।

स्थानीय तहले ऐतिहासिक तथा धार्मिक महत्वका पोखरीहरूको संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।