नारायणी अस्पतालका चिकित्सकहरूले दिए सामूहिक राजीनामा

पर्सा, १२ साउन । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट, तोडफोड तथा त्यसपछिको घटनामा प्रशासनले समेत दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखको राजीनामा माग गरेका हुन् ।
अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार करिब ७० चिकित्सकमध्ये झण्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको छ ।
सबै चिकित्सकले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले बताए ।
चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक बाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएका छन् ।
आकस्मिक सेवा सञ्चालनबारे स्वास्थ्य मन्त्रालयको आग्रहपछि चिकित्सकहरू वार्ताका लागि तयार भए पनि प्रशासनसँगको छलफल असफल भएपछि आन्दोलन थप चर्किएको हो ।
डा. सिंहका अनुसार चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि चिकित्सकहरूको टोली सीडीओ कार्यालय पुगेको थियो ।
तर, वार्ताकै क्रममा वातावरण तनावपूर्ण बनेको र प्रशासनले चिकित्सकहरूमाथि अपमानजनक व्यवहार गरेको आरोप उनले लगाए ।
उनका अनुसार नेपाल चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि जिम्मेवारी उठाउनुपर्ने चेतावनी दिएपछि सीडीओ आक्रोशित बनेका थिए ।
त्यसलगत्तै प्रहरी परिचालन गरी चिकित्सकहरूलाई नियन्त्रणमा लिने प्रयास गरिएको, मोबाइलसमेत खोसिएको र करिब एक घण्टासम्म कार्यालयभित्र राखिएको दाबी चिकित्सकहरूको छ ।
प्रशासनको व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको डा. सिंहले बताए ।
उनले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडानसमेत दोहोर्याएका छन् ।
यता, नेपाल चिकित्सक संघले पनि घटनाको विरोध गर्दै मंगलबार देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
गत साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । गम्भीर घाइते डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सकहरूले ओपीडी सेवा प्रभावित पार्दै आन्दोलन जारी राखेका छन् ।

