सिरहा, १२ साउन । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालमा हाजिरी सम्बन्धी गम्भीर लापरबाही सार्वजनिक भएको छ ।

अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिरी रजिस्टरमा हस्ताक्षर गरेको भेटिएपछि सरकारी कार्यालयको अभिलेख व्यवस्थापन र प्रशासनिक अनुशासनमाथि प्रश्न उठेको छ ।

अस्पतालको आधिकारिक हाजिरी रजिस्टरमा भविष्यका मितिसम्मको उपस्थितिमा हस्ताक्षर गरिएको देखिएको हो ।

यस घटनाले कर्मचारीको वास्तविक उपस्थितिको अभिलेख कति विश्वसनीय छ भन्ने विषयमा समेत चासो बढाएको छ ।

यस विषयमा प्रतिक्रिया माग्दा कार्यालय प्रमुख डा. यादवले ‘कहिलेकाहीँ मिस्टेकले यस्तो हुन सक्छ’ भन्दै सामान्य त्रुटिका रूपमा व्याख्या गरे ।

तर, साउन १२ गतेमै २८ गतेसम्मको हाजिरी कसरी भयो भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ नदिई फोन काटेका थिए ।

घटनाबारे सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवसँग पनि प्रतिक्रिया लिन खोजिएको थियो ।

उनले सुरुमा फोन उठाए पनि पत्रकार भएको जानकारी पाएपछि आफू छलफलमा रहेको भन्दै संवाद छोट्याएका थिए । त्यसपछि उनीसँग पुनः सम्पर्क हुन सकेन ।

स्थानीय स्रोतका अनुसार डा. लुस्युनकुमार यादव नगर प्रमुख रामऔतार यादवका छोरा हुन् । उनी करार सेवामार्फत नगर आधारभूत अस्पतालमा चिकित्सकका साथै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।

सरकारी कार्यालयको आधिकारिक हाजिरी रजिस्टरमै भविष्यको मितिसम्म हस्ताक्षर गरिएको घटना सार्वजनिक भएपछि यसबारे छानबिन गरी जिम्मेवारमाथि आवश्यक कारबाही गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ ।