मधेशमै सबैभन्दा धेरै धान रोपाइँ बाँकी, देशभर ८५.७२ प्रतिशतमा मात्र सम्पन्न

जनकपुरधाम, १२ साउन । देशभर धान रोपाइँको काम अन्तिम चरणतर्फ अघि बढे पनि प्रमुख अन्न उत्पादन क्षेत्र मधेश प्रदेशमा अझै ठूलो क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको देखिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागले सार्वजनिक गरेको साउन ७ सम्मको तथ्यांकअनुसार देशभर धानखेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये ११ लाख ७४ हजार ३ सय ९२ हेक्टर अर्थात् ८५.७२ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ ।
अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टर (१४.२८ प्रतिशत) क्षेत्रफलमा धान रोप्न बाँकी छ ।
तथ्यांकअनुसार सबैभन्दा धेरै रोपाइँ हुन बाँकी रहेको प्रदेश मधेश हो । प्रदेशमा धानखेती हुने ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३ लाख ५ सय ८० हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ ।
यससँगै करिब ८५ हजार ३ सय ५२ हेक्टर अर्थात् २२.१२ प्रतिशत क्षेत्रफल अझै रोपाइँको प्रतीक्षामा रहेको छ ।
मधेशपछि गण्डकी प्रदेशमा १९.२८ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ । त्यहाँ कुल ९३ हजार ६ सय ६ हेक्टरमध्ये ७५ हजार ५ सय ६२ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।
कोशी प्रदेशमा ८६.९७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा १३.०३ प्रतिशत क्षेत्रफल बाँकी रहेको छ । बागमतीमा ८७.०९ प्रतिशत र लुम्बिनीमा ८८.९९ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने क्रमशः १२.९१ र ११.०१ प्रतिशत क्षेत्रफलमा काम हुन बाँकी छ ।
कर्णाली प्रदेशमा पनि ८८.२२ प्रतिशत रोपाइँ सम्पन्न हुँदा ११.७८ प्रतिशत खेतमा अझै धान रोप्न बाँकी रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
उता, सुदूरपश्चिम प्रदेश भने धान रोपाइँमा सबैभन्दा अगाडि देखिएको छ । प्रदेशको कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टरमध्ये १ लाख ५१ हजार ७ सय ४२ हेक्टर अर्थात् ९७.९३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ । त्यहाँ अब २.०७ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ गर्न बाँकी रहेको छ, जुन देशकै सबैभन्दा न्यून हो ।
यद्यपि, अझै उल्लेख्य क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहे पनि गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति उल्लेखनीय रूपमा सुधारिएको कृषि विभागको तथ्यांकले देखाएको छ ।
गत वर्ष साउन ११ सम्म देशभर ७८.८४ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष सोही अवधिमा रोपाइँ दर बढेर ८५.७२ प्रतिशत पुगेको छ ।

