शिक्षामा गुणस्तर सुधार अपरिहार्य: मन्त्री पोखरेल

जनकपुरधाम, ११ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
सोमबार जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको निरीक्षण तथा प्राध्यापकहरूसँगको छलफलका क्रममा मन्त्री पोखरेलले समयको आवश्यकता अनुरूप क्याम्पसहरूले आफ्नो शैक्षिक प्रणालीलाई परिमार्जन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
पुरानो शैक्षिक संस्थाका रूपमा राराब क्याम्पसले विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै उनले पठनपाठनलाई थप प्रभावकारी बनाउन, परीक्षाका क्रममा हुने अमर्यादित गतिविधि नियन्त्रण गर्न तथा शैक्षिक अनुशासन कायम गर्न क्याम्पस प्रशासनलाई निर्देशन दिए ।
क्याम्पसको भौतिक पूर्वाधार सुधारका लागि आवश्यक विवरण तत्काल मन्त्रालयमा पठाउन आग्रह गर्दै मन्त्री पोखरेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
साथै बिलिङ प्रणालीलाई अनलाइनमार्फत सञ्चालन गर्न, क्याम्पसभित्र सरसफाइको अवस्था सुधार गर्न तथा पुस्तकालयमा देखिएका समस्या शीघ्र समाधान गर्न पनि उनले निर्देशन दिए ।
छलफलका क्रममा क्याम्पस प्रमुख प्रा. डा. वसन्तकुमार कर्णले क्याम्पसको वर्तमान अवस्था, पूर्वाधार सुधारका प्रयास तथा भावी योजनाबारे मन्त्रीलाई जानकारी गराएका थिए ।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीहरूसँग पनि प्रत्यक्ष संवाद गरेका थिए ।
विद्यार्थीहरूले क्याम्पसमा खानेपानी, शौचालय, सरसफाइ तथा पुस्तकालय व्यवस्थापनमा समस्या रहेको गुनासो गर्दै ती विषयमा तत्काल सुधारको माग गरेका थिए ।

