जनकपुरधाम, ११ साउन । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिले धनुषा जिल्ला शाखाको मौजुदा कार्यसमिति विघटन गर्दै नयाँ तदर्थ समिति गठन गरेको छ ।

केन्द्रीय तदर्थ समितिको साउन ४ गते बसेको बैठकले नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौं संशोधनसहित) को व्यवस्था अनुसार नरेशकुमार सिंहको सभापतित्वमा रहेको धनुषा जिल्ला शाखा समिति विघटन गरी जनकपुरधाम उपमहानगरपालिका–१० निवासी पंकजकुमार महतोको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

केन्द्रीय कार्यालयले धनुषा जिल्ला शाखालाई पठाएको पत्रअनुसार नवगठित समितिमा इन्जिनियर बिमल पुर्वे मन्त्री, सतिशकुमार सिंह कोषाध्यक्ष तथा डा. सुभाषचन्द्र यादव, राजेशकुमार ठाकुर, राजेश राइन, अजयकुमार नायक, राजेन्द्रकुमार भा, शान्ती विष्ट, नागिनादेवी मिश्र र रामकलादेवी सदा सदस्य रहेका छन् ।

केन्द्रीय कार्यालयले तदर्थ समितिलाई जिल्ला शाखाको वित्तीय अवस्था, बैंक खाता, सम्पत्ति तथा दायित्वको परीक्षण गरी ३० दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

साथै सदस्यता अद्यावधिक, संस्थागत सुदृढीकरण, सांगठनिक कार्ययोजना निर्माण तथा विधानअनुसार निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने जिम्मेवारी पनि तोकिएको छ ।

त्यस्तै, केन्द्रीय तदर्थ समितिले अघि सारेको रोडम्याप कार्यान्वयनमा समन्वय र सहयोग गर्ने तथा केन्द्रीय कार्यालयले तोकेका अन्य जिम्मेवारी समयमै सम्पन्न गरी प्रतिवेदन बुझाउन पनि समितिलाई निर्देशन दिइएको छ ।