जनकपुरधामका होटल र पानी उद्योगमा खाद्य विभागको अनुगमन

जनकपुरधाम, ११ साउन । खाद्य स्वच्छता र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड भइरहेको गुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनकपुरधामका होटल तथा प्रशोधित पानी उद्योगमा गरेको अनुगमनका क्रममा तीन व्यवसाय मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।
विभागअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले साउन ५ गते गरेको स्थलगत अनुगमनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को उल्लंघन भएको पाइएपछि सम्बन्धित व्यवसायलाई आवश्यक निर्देशनसहित कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
अनुगमनका क्रममा जनकपुरधाम–८ स्थित इनेजिक केगंन वाटर उद्योगले प्रशोधित पिउने पानी उत्पादनका लागि अनुमति लिए पनि २० लिटरको जारमा ‘अल्कालाइन वाटर’ उत्पादन तथा बिक्री गरिरहेको भेटिएको कार्यालयले जनाएको छ ।
उद्योगले नाम परिवर्तन गरी ‘मिराकल वाटर उद्योग’ का नामबाट सञ्चालन गरेको समेत पाइएको छ ।
विभागले तत्कालका लागि उक्त उद्योगबाट उत्पादित अल्कालाइन पानीको बिक्री वितरण रोक्न निर्देशन दिएको छ भने आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन उद्योगलाई भनिएको छ ।
यस्तै, जनकपुरधाम–१० स्थित श्री होटल मिथिला चिरायूमा सरसफाइको अभाव देखिनुका साथै मसी लागेको पत्रपत्रिका खानासँग प्रत्यक्ष सम्पर्क हुने गरी प्रयोग गरिएको फेला परेको छ ।
विभागले यस्तो अभ्यास तत्काल बन्द गरी सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ ।
त्यसैगरी जनकपुरधाम–४ स्थित सौरभ खाउँ खाउँ चाट पसलमा पनि मसी छापिएको पत्रिकामा खाद्य सामग्री राखेर बिक्री गरिएको, सरसफाइमा लापरबाही गरिएको तथा पकाएको खाना सुरक्षित तापक्रममा भण्डारण नगरेको पाइएको विभागले जनाएको छ ।
पसल सञ्चालकलाई खाद्य स्वच्छताको मापदण्ड पालना गर्न र पकाएको खाना सुरक्षित तापक्रममा राख्न निर्देशन दिइएको छ ।
विभागले सबै व्यवसायीलाई नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य उत्पादन, भण्डारण र बिक्री वितरणका मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गर्दै अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ ।

