उच्च अदालत जनकपुर घेराउ गर्दै मिटरब्याज पीडितको विरोध

जनकपुरधाम, ११ साउन । मिटरब्याजको मारमा परेका पीडितहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै सोमबार उच्च अदालत जनकपुरधामको मुख्य प्रवेशद्वार अगाडि प्रदर्शन गरेका छन् ।
हातमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका पीडितहरूले वर्षौंदेखि न्यायको खोजीमा भौतारिनुपरेको गुनासो गर्दै मिटरब्याजीलाई राजनीतिक तथा प्रशासनिक संरक्षणका कारण कारबाही हुन नसकेको आरोप लगाए ।
उनीहरूले पीडितलाई न्याय र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकार तथा न्यायालयसँग माग गरेका छन् ।
प्रदर्शनकारीहरूले मिटरब्याजका कारण धेरै परिवारको घरजग्गा गुमेको, आर्थिक रूपमा तहसनहस भएको र कतिपय पीडित आत्महत्यासमेत गर्न बाध्य भएको दाबी गर्दै दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन् ।
उनीहरूले मिटरब्याजसम्बन्धी मुद्दाको शीघ्र सुनुवाइ, पीडितको सम्पत्ति फिर्ता गराउने व्यवस्था तथा दोषीलाई कडा सजाय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनका क्रममा केही समय अदालत परिसर बाहिर नाराबाजीसमेत गरिएको थियो । शान्तिपूर्ण रूपमा सम्पन्न प्रदर्शनका बीच सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
पीडितहरूले न्याय नपाएसम्म आफ्नो आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन् ।

