जनकपुरधाम, ११ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षाको गुणस्तर अभिवृद्धिसँगै विद्यालय तहमा खेलकुद गतिविधिलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले विद्यालयमा अध्ययनसँगै खेलकुदलाई समान महत्व दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक खेल सामग्री तथा पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

जनकपुरधामस्थित संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधारका लागि सरकार बहुआयामिक रूपमा काम गरिरहेको जानकारी दिए ।

उनले हालै राजर्षी जनक विश्वविद्यालयका उपकुलपतिसँग भेटवार्ता गरी विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रशासनिक व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासका विषयमा विस्तृत छलफल भएको बताए ।

राजर्षी जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण, घेराबार तथा जग्गा व्यवस्थापनका विषयलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको उल्लेख गर्दै उनले देखिएका समस्याहरू क्रमशः समाधान हुँदै गएको बताए ।

‘विश्वविद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आवश्यक सबै पक्षसँग समन्वय भइरहेको छ । भौतिक पूर्वाधारदेखि शैक्षिक वातावरण सुधारसम्मका विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइरहेको छ,’मन्त्री पोखरेलले भने ।

उनले मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने प्रक्रियासमेत अन्तिम चरणमा पुगेको जानकारी दिए । यस सम्बन्धमा तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको उनले बताए ।

‘साक्षर प्रदेश घोषणाका लागि आवश्यक प्रतिवेदन तयार भइसकेको छ । प्रदेश सरकारलाई हस्तान्तरण पनि गरिसकिएको छ । यसमा सकारात्मक प्रगति भइरहेको छ र आवश्यक प्रक्रिया पूरा गर्दै हामी अगाडि बढिरहेका छौं,’उनले भने ।

सञ्चारकर्मीले साक्षर प्रदेश घोषणाको वर्तमान अवस्थाबारे जिज्ञासा राख्दा मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा अझै धेरै चुनौती रहे पनि ती चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै सरकार अघि बढिरहेको प्रतिक्रिया दिए ।

उनले शिक्षा क्षेत्रमा संरचनागत सुधार, गुणस्तरीय शिक्षण सिकाइ, विद्यालय व्यवस्थापन, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।

‘समस्या छन्, चुनौती छन् । तर, त्यसको समाधान खोज्दै हामी निरन्तर काम गरिरहेका छौं । शिक्षा क्षेत्रलाई परिणाममुखी बनाउन सरकार दृढ छ,’उनले स्पष्ट पारे ।

मन्त्री पोखरेलले सरकारले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानमा ढिलाइ नगर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै कुनै पनि विषय सार्वजनिक भएलगत्तै त्यसको समाधानका लागि सम्बन्धित निकायलाई सक्रिय बनाइने बताए ।

उनले पछिल्लो समय सार्वजनिक भएको प्रश्नपत्र बाहिरिएको घटनाको उदाहरण दिँदै सरकार र सम्बन्धित निकायले तत्कालै आवश्यक प्रक्रिया अघि बढाएको तथा २४ घण्टाभित्रै मुख्य आरोपी पक्राउ परिसकेको जानकारी दिए । घटनाको थप अनुसन्धान जारी रहेको उनले बताए ।

यसअघि विद्यालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले विद्यार्थीहरूलाई भलिबल, क्रिकेट, ब्याडमिन्टनलगायत विभिन्न खेलका सामग्री हस्तान्तरण गरेका थिए ।

उनले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीको विकास गर्ने भएकाले विद्यालय तहदेखि नै खेल संस्कृतिको विकास आवश्यक रहेको बताए ।

उनले देशभरका सामुदायिक विद्यालयमा खेलकुद गतिविधि विस्तार, आवश्यक सामग्री उपलब्ध गराउने, विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन गर्ने तथा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।