पाँच प्रदेशमा सत्ता साझेदारीको सहमति, एमालेले तीन र नेकपाले दुई प्रदेशको नेतृत्व गर्ने

जनकपुरधाम, ०९ साउन । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारहरूमा सत्ता साझेदारी गर्ने औपचारिक सहमति भएको छ ।
शीर्ष तहमा भएको सहमतिअनुसार दुवै दलले पाँच प्रदेशमा सरकारको नेतृत्व बाँडफाँट गर्ने भएका छन् ।
शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको लिखित सहमतिपत्रमा प्रदेश सरकार सञ्चालनका विषयमा सहकार्य गर्ने निर्णय गरिएको हो ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ ।
दुवै दलले प्रदेश सरकारहरूलाई स्थायित्व प्रदान गर्दै साझा नीति तथा कार्यक्रमका आधारमा शासन सञ्चालन गर्ने उद्देश्यले सत्ता सहकार्यलाई संस्थागत गरिएको जनाइएको छ ।
प्रदेश सरकारको नेतृत्व, मन्त्रिपरिषद् गठन तथा अन्य राजनीतिक व्यवस्थापनका विषयमा पनि आपसी समझदारीका आधारमा अघि बढ्ने सहमति भएको स्रोतले जनाएको छ ।
यो सहमतिलाई केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणलाई प्रदेश तहसम्म विस्तार गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
यससँगै सम्बन्धित प्रदेशहरूमा सरकार गठन, नेतृत्व हस्तान्तरण तथा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँटका प्रक्रिया छिट्टै अघि बढ्ने विश्वास गरिएको छ ।

