महन्थ ठाकुरको आरोप: ‘बालेन नेपाली हिटलर बने, सरकारका आश्वासन पूरा भएनन्’

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि कडा आलोचना गरेका छन् ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरीत अघि बढिरहेको आरोप लगाउँदै प्रधानमन्त्री शाहलाई ‘नेपाली हिटलर’को संज्ञा दिएका हुन् ।
सांसद ठाकुरले सरकारले ट्रेड युनियन, विद्यार्थी संगठन तथा अन्य संगठित संस्थाहरूमाथि हस्तक्षेप गर्दै लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने काम गरेको दाबी गरे ।
संगठित संस्थामाथि निरन्तर प्रहार गरेर सरकार के हासिल गर्न खोजिरहेको भन्ने प्रश्नसमेत उनले उठाए ।
उनले प्रधानमन्त्री शाहले कर्मचारी प्रशासनलाई समेत अस्थिर बनाएको आरोप लगाए ।
दरबन्दीमा रहेका कर्मचारीलाई हटाउने तथा प्रशासनिक संयन्त्रलाई कमजोर पार्ने गतिविधिका कारण आन्दोलनको अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
सरकारले जनतासामु गरेका अधिकांश प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा मुलुकमा निराशा बढ्दै गएको ठाकुरले बताए ।
आर्थिक अवस्था कमजोर बन्दै जाँदा व्यवसायी पलायनको अवस्थामा पुगेको र राजनीतिक नेतृत्वसमेत असुरक्षित महसुस गरिरहेको उनको दाबी थियो ।
उनले सामाजिक निराशाका कारण आत्महत्याका घटनासमेत बढ्दै गएको टिप्पणी गरे ।
शिक्षा र स्वास्थ्य क्षेत्रबारे बोल्दै ठाकुरले निजी विद्यालय र नर्सिङ होममाथि भइरहेको सरकारी कडाइप्रति असन्तुष्टि जनाए ।
यस्ता संस्था बन्द हुने अवस्था आए लाखौँ विद्यार्थी, शिक्षक तथा स्वास्थ्यकर्मीको भविष्य अन्योलमा पर्ने चेतावनी दिँदै उनले शिक्षा र स्वास्थ्य सेवा सरकारी संयन्त्रले मात्र प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्ने बताए ।
ठाकुरले सरकारलाई लोकतान्त्रिक पद्धति, संस्थागत स्वतन्त्रता र जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्दै जनविश्वास गुम्ने गतिविधि रोक्नुपर्ने आवश्यकता औंल्याए ।

