एमालेसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस, सातै प्रदेशबाट मन्त्री फिर्ता बोलाउने तयारी

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसले नेकपा एमालेसँगको प्रदेशस्तरीय सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ ।
प्रदेश सरकारहरूमा एमालेको कार्यशैलीप्रति असन्तुष्टि बढेपछि कांग्रेसले सातवटै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णयको तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।
पार्टीका शीर्ष नेताबीच पछिल्ला दिनहरूमा भएको निरन्तर छलफलबाट एमालेसँगको सहकार्यलाई निरन्तरता दिने विषयमा सहमति जुट्न नसकेपछि कांग्रेस सत्ता समीकरणबाट पछि हट्ने निष्कर्षमा पुगेको बताइएको छ ।
स्रोतका अनुसार प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई क्रमशः फिर्ता बोलाउने प्रक्रिया अघि बढाइनेछ ।
यसको संकेतस्वरूप मंगलबार कर्णाली प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको छ । यी घटनालाई केन्द्रको राजनीतिक समीकरण परिवर्तनको प्रभावका रूपमा हेरिएको छ ।
हाल कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । अन्य प्रदेशहरूमा पनि एमाले–कांग्रेसबीचको सत्ता साझेदारी अब अन्त्य हुने सम्भावना बलियो बनेको छ ।
कांग्रेसभित्र भने अबको रणनीतिबारे थप छलफल जारी छ । नेकपालगायत अन्य दलसँग नयाँ राजनीतिक समझदारी बने सरकारमा सहभागी हुने, अन्यथा सातै प्रदेशमा प्रतिपक्षको भूमिकामा बस्ने विकल्पमा पनि आन्तरिक गृहकार्य भइरहेको स्रोतको भनाइ छ ।
कांग्रेसको यो कदमले प्रदेश सरकारहरूको सत्ता समीकरणमा व्यापक फेरबदल आउने सम्भावना देखिएको छ । आगामी केही दिनभित्र पार्टीले औपचारिक निर्णय सार्वजनिक गर्ने विश्वास गरिएको छ ।

