जनकपुरधाम, ३० असार । नेपाल आयल निगमले बुधबार (असार ३१) देखि देशभर पुनः १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ ।

मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेशनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङमा सुधार आएको र बजारमा १४.२ केजी ग्यासको माग बढेकाले साविककै क्षमताको सिलिन्डर उपलब्ध गराउने निर्णय गरिएको हो ।

निगमले १४.२ केजी ग्यासको मूल्य प्रतिउपभोक्ता २ हजार ६० रुपैयाँ कायम रहने जनाएको छ ।

यसअघि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन निगमले फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी ग्यास भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो ।

निगमका अनुसार केही समयसम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै क्षमताका सिलिन्डर एकसाथ बिक्री–वितरण हुन सक्ने भएकाले उपभोक्ताले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गर्न आग्रह गरिएको छ ।

निगमले हाल भारतीय आयल कर्पोरेशनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको जनाउँदै आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ ।