काठमाडौँ, २९ असार । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार औपचारिक रूपमा नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।

त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् ।

उनले पनि सोमबार नै सञ्चारमन्त्री तिमिल्सिनाबाट नियुक्तिपत्र बुझ्दै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

नियुक्तिपत्र हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट जिम्मेवारीमा पुगेका दुवै अध्यक्षले आफ्नो संस्थागत भूमिकालाई प्रभावकारी र परिणाममुखी ढङ्गले निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले सिफारिस समितिले निष्पक्ष, पारदर्शी र योग्यताका आधारमा छनोट गरेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणजस्ता नियामक निकायहरूले कानुनअनुसार जिम्मेवारी बहन गर्दै सुशासन, पारदर्शिता र संस्थागत सुधारमा विशेष ध्यान दिनुपर्ने बताए ।