एनआरएनए अमेरिकाको १५औँ साधारण सभा टेक्सासमा हुँदै

जनकपुरधाम, २९ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनसीसी अमेरिका) को १५औँ वार्षिक साधारण सभा तथा ज्ञान सम्मेलन आगामी जुलाई १८ र १९ तारिखमा अमेरिकाको टेक्सास राज्यस्थित राउण्ड रक शहरमा आयोजना हुने भएको छ ।
आयोजकका अनुसार राउण्ड रकको चिसहोल्म ट्रेल क्षेत्रमा रहेको होलिडे इन होटलमा हुने कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहनेछ ।
कार्यक्रम संयोजक तथा एनसीसी अमेरिकाका उपाध्यक्ष सुरेन्द्र लौडारीका अनुसार साधारण सभाको मुख्य उद्देश्य अमेरिकामा रहेका नेपाली समुदायको आवाजलाई थप सशक्त रूपमा संगठित गर्नुका साथै उनीहरूको प्रत्यक्ष सहभागितामार्फत संस्थाको भावी नीति तथा कार्यदिशा तय गर्नु हो ।
साधारण सभासँगै आयोजना गरिने ज्ञान सम्मेलनमा विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, गणित, स्वास्थ्य विज्ञान, प्राकृतिक विज्ञान, योग, सामाजिक विषय तथा कानुनलगायत विविध क्षेत्रका विशेषज्ञहरूले अनुसन्धानमूलक तथा जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
आयोजकका अनुसार विश्वभरका एनआरएन संगठनमध्ये प्रभावशाली मानिने एनसीसी अमेरिकाको यस साधारण सभाले संगठनलाई थप सुदृढ बनाउने, सदस्यहरूबीच खुला छलफल र विचार आदानप्रदानलाई प्रोत्साहन गर्ने तथा नेपालसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने रणनीतिमा केन्द्रित रहनेछ ।

